देवघाट, फागुन ७
देवघाट गाउँपालिका–५ स्थित महेश संन्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा बुधबार देवघाटमा कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय तथा पर्यटकीय महत्वको पहिचान र मानवीय अतिक्रमणको निदानका निम्ति साझा विचार र योजना निर्धारण गर्ने उद्देश्यले विमर्श सभा सम्पन्न भएको छ ।




पवित्र कालीगण्डकी नदीको प्राकृतिक स्वरूप र संरचना संरक्षणका निम्ति जनस्तरबाट गरिनुपर्ने साझा पहल र सूचना निर्धारण गर्ने उद्देश्यले अभियन्ता र सरोकारवालाहरूको विशेष सहभागितामा रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा महेश संन्यास आश्रम देवघाटमा सम्पन्न भएको उक्त गण्डकीका जीवनहरू विषयक विमर्श सभामा बोल्ने वक्ताहरुले कालीगन्डकी नदीको संरक्षणकालागि चाल्नुपर्ने कदमहरुको बारेमा धारणा राखेका थिए । वक्ताहरुले कालीगण्डकी सनातन अनुयायीहरूले अत्यन्तै आस्था राख्ने पवित्रतम नदी हो भएको तथा समृद्ध सभ्यता भएर पनि राज्यका तर्फबाट तथा जनसमुदायका तर्फबाट वेवास्ता गर्दै नदीको अस्तित्वलाई नै सङ्कटमा पार्ने गरी दोहन तथा प्रस्रवण नै पथान्तर (कालीगण्डकी डाइभर्सन) गर्ने सम्मका गतिविधिमा अघि बढेको भन्दै त्यसको रोकथामका निम्ति विमर्श सभा अत्यन्तै उपयोगी भएको बताए ।

उक्त कार्यक्रममा बोल्दै देवघाट स्थित हरिहर सन्यास आश्रमका पिठाधिश एवं नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीले कृष्णागन्डकी (कालीगन्डकी) देवनदी र हिमनदी भएको भन्दै कालिगन्डकी नदीलाई डाँडामा प्वाल पारेर कुलो बनाई तिनाउ खोलामा सरकारी प्रयास आफुहरुलाई मान्य नहुने बताए । भगवान श्रीकृष्णको गन्डस्थलबाट प्रभाहित भएको कालिगन्डकी विश्वकै शालीग्राम पाइने एक मात्र नदी भएको हुँदा उक्त नदी कुनै खोलामा लगेर मिसाई सिंचाईको लागि प्रयोग गर्न नहुने उनको भनाई थियो । कालीगन्डकीलाई आफ्नै स्वरुपमा बहन दिनुपर्ने भन्दै ज्ञानानन्द सरस्वतीले कालीगन्डकी डाईभर्सन योजना धर्म र संस्कृति मास्ने षड्यन्त्र स्वरुप आएको बताए ।

महेश सन्यास आश्रमका पिठाधिश १००८ स्वामी रमणानन्द गिरीले कालीगन्डकी नदी जोगाउन संगठित अभियान सन्चालन गनुपर्ने बताए । राजनीतिक नेतृत्वले विभिन्न स्वार्थले कालीगन्डकी नदी डाइभर्सनको योजना ल्याएको भन्दै उनले त्यसको प्रतिकारको लागि देशभरका सनातनीहरु जाग्नुपर्ने र यस्ता विमर्श कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा कालीगन्डकी नदीको बारेमा विद्यावाधिरी गर्नुहुने संरक्षणकर्ता डा.कुलराज चालिसेले कालीगन्डकी डाइर्भसनले पार्ने प्रभाव र असरको विषयमा, गुल्मी, पाल्पा र स्याङजाको सिमानामा पर्ने रुरु क्षेत्रमा रहेर कालीगन्डकी र शालिग्रामको प्रचार प्रसार र संरक्षणमा लागिपर्ने रचना भट्टराईले कालिगन्डकी र शालिग्रामको महत्वको बारेमा, पर्वतमा रहेर कालीगन्डकी नदीको अस्तित्व जोगाउन निरन्तर लागिपर्ने अभियानकर्मी आरके अदिप्त गिरीले कालीगन्डकीमा मानविय अतिक्रमण र त्यसले पारेको प्रभावको विषयमा, दामोदर पर्वतको बारेमा खोज अनुसन्धान गर्नुहुने पृथ्वीनारयण क्याम्पस पोखराका उप- प्राध्यापक डा.रामचन्द्र बरालले कालीगन्डकीका तटवर्ती क्षेत्रमा हुने आध्यात्मिक चिन्तनको बारेमा तथा पोखरा स्थित बिन्ध्यबासिनी संस्कृत गुरुकुलका प्राचार्य डा.जगन्नाथ रेग्मीले कालीगन्डकीको महत्व विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कालीगण्डकीको विभिन्न क्षेत्रमा रहेर अध्ययन, अनुसन्धान तथा अभियान सञ्चालन गर्ने डा.कुलराज चालिसे, रचना भट्टराई, आरके अदिप्त गिरी, डा.रामचन्द्र बराल र डा.जगन्नाथ रेग्मीलाई इश्वरी–जनकदेव सोधबृत्ती पुरस्कार प्रदान गरिएको थियो ।

मानवीय अतिक्रमणबाट पवित्र कालीगण्डकी नदीलाई जोगाउन जनस्तरबाट गरिनुपर्ने पहल र सूचनाको निर्धारण गर्दै नदीको प्राकृतिक स्वरूप बिग्रिन नदिई स्वच्छ रूपमा निरन्तर प्रवाहित गर्दै, हिमाली दर्शन र गण्डकी सभ्यताको संरक्षणका साथ कालीगण्डकीलाई राष्ट्रिय नदीको रूपमा स्थापित गराउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको महेश संस्कृत गुरुकुलमका प्राचार्य कमल सुवेदीले बताए ।

कार्यक्रमका संयोजक महेश संस्कृत गुरुकुलका उपप्राध्यापक फणिन्द्रप्रसाद पौडेलले कालीगण्डकीको धार्मिक, साँस्कृतिक, सामाजिक, पर्यावरणीय तथा पर्यटकीय महत्वका पाटाहरूलाई जनमानसमा पु¥याउँदै गण्डकी सभ्यताको निरवच्छिन्न उन्नयनमा टेवा पु¥याउनकोलागि उक्त कार्यक्रम आयोजना गरिएको बताए । पुर्वीय सभ्यतामा पूजित एवं पुराणहरूमा वर्णित गण्डकी सभ्यताको अस्तित्व रक्षार्थ उक्त विमर्श सभा गरिएको पौडेलले बताए ।

देवघाट स्थित रामानन्द अनुसन्धान केन्द्र पूर्वीय संस्कृति, धर्म, दर्शन, सभ्यता र ज्ञानविज्ञानको अध्ययन अनुसन्धानका निमित्त खोलिएको र विगतका दिनहरूमा पूर्वीय वाङ्मय र सभ्यतासँग सम्बन्धित विचार–विमर्श, सङ्गोष्ठी आदि गर्दै आइरहेको पौडेलले बताए । सो कार्यक्रममा कालीगण्डकी नदीको प्रचारप्रसार, संरक्षण र संवर्धनमा लागिपरेका अभियानकर्मी, सरोकारवाला, स्थानीय निकाय, मठमन्दिर आश्रम तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।

यसैविच उक्त विद्वत सभाले कालीगन्डकी नदी र गण्डकी सभ्यताको संरक्षणका निम्ति गन्डकी घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा ‘हामी नेपाली संस्कार र संस्कृतिका प्रेमीहरु वैदिक चेतनाका मुलश्रोत हिमवत्वखण्डका पावन हिमसृङखला निःसृत, संसारभरका सनातनी हिन्दु समुदायको आस्थाको केन्द्र, पवित्र कृष्णागण्डकीको प्राकृतिक स्वरुप र अविरल स्वच्छ प्रवाहलाई संरक्षण गर्दै गौरवशाली गन्डकी सभ्यताको संवर्धन गर्ने उद्देश्यले महेश सन्यास आश्रम रामानन्द अनुसन्धान केन्द्र देवघाटधामद्वारा २०८१ फागुन ७ गते बुधबारका दिन आयोजित कालीगण्डकी विमर्श सभाले पारित गरेको गण्डकी घोषणापत्र २०८१ मा प्रतिबद्धता व्यक्त गर्दछौं ।’ जनाईएको छ ।

उक्त पाँचबुदे घोषणामा पवित्र कालीगण्डकी नदीलाई संसारभरका हिन्दु सनातनीहरूको साँस्कृतिक सम्पदा र नेपालको राष्ट्रिय नदीका रूपमा स्थापित गर्न अभियान सञ्चालन गर्ने, कालीगण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाह सुरक्षित गर्ने, गण्डकीको तल्लो तटीय क्षेत्रसम्म शालग्रामको निर्वाध उपलब्धतामा बाधा व्यवधान गर्ने मानवीय अतिक्रमण र दोहनको विरोध गर्ने, गण्डकीका गर्भक्षेत्रमा हुने मानवीय प्रदूषण (फोहोर, मैला, मल–मूत्र विसर्जन) को निराकरणका निम्ति जनचेतनाका कार्यहरू गर्ने तथा कृष्णागण्डकीको दुर्लभ महत्व र सौन्दर्यको प्रचार–प्रसार गरी धार्मिक पर्यटनको प्रवर्धनका निम्ति सन्तहरूको अगुवाइमा कृष्णागण्डकी पदयात्रा आयोजना गर्ने उल्लेख छ ।












