केशवटारलाई कति हेपेको ?

Devghat Online

शेयर गरौ

शिवप्रसाद तिवारी

गत महिना तनहुँको सदरमुकाम दमौलीमा सभागृह उद्घाटनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले केशवटारको प्रशंसा गर्नुभयो । जस्तै समयमा पनि लोकतान्त्रिक धारको (उहाँको भित्री आशय नेपाली कांग्रेस भन्ने अर्थमा थियो) साथ नछोडेकोमा केशवटारलाई उहाँले धन्यवाद पनि दिनुभयो । राष्ट्रपति पौडेलले सभागृह उद्घाटनका अवसरमा केशवटारको नाम लिनुपर्ने खास कारण थियो । दमौली–केशवटार सडक नेता र नीतिनिर्माताको बेवास्ता, कोपभाजन र धेरै थोरै सरोकारवालाको अकर्मण्यताका कारण दशकौंंसम्म पनि पक्की हुन नसकेपछि सो सडकका सरोकारवालाको अहिले धैर्यताको बाँध टुटेको छ । त्यसैलाई लिएर राष्ट्रपति पौडेलसमक्ष आफ्नै गृहजिल्लामा असन्तुष्टि प्रकट हुन सक्ने परिस्थिति उत्पन्न भएपछि उहाँलाई दमौलीको कार्यक्रममा केशवटारलाई सम्बोधन गर्नुपरेको बुझ्न सकिन्छ । तर केशवटारले अहिले खोजेको मीठा शब्द र थामथुम पार्ने प्रयास होइन, वास्तविक काम हो । दमौली–केशवटार सडक मार्ग सकेसम्म चाँडै पक्की बनाउनुपर्ने केशवटारको अहिलेको मुख्य माग हो । केशवटारको आशा आत्मकेन्द्रित होइन, जायज र वैध हो ।

प्राथमिकताः सडक सडक र सडक

आदरणीय पाठक, यस लेखमा केशवटार भन्नाले केशवटार बजारमात्र नभई त्यहाँ केन्द्र रहेको व्यास नगरपालिकाको वडा नम्बर १४ लाई भनिएको अर्थमा बुझ्न अनुरोध छ । व्यास नगरपालिकाका पाठकका लागि केशवटार अपरिचित नहोला तर अन्य पाठकको जानकारीका लागि केशवटार तनहुँ जिल्लाको सदरमुकाम दमौली बजार समेत पर्ने व्यास नगरपालिकाको वडा नं १४ हो । मगरहरुको घनावस्ती रहेको यो वडामा उक्त जातीको संख्या ९० प्रतिशत हाराहारी रहेको छ । व्यास नगरपालिका एवं तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट सरदर १४ किलोमिटरको दूरीमा रहेको केशवटार सांस्कृतिक, प्राकृतिक रुपले असाध्यै धनी बन्ने सम्भावना बोकेर बसेको छ । तर पञ्चायतकाल मात्र नभई बहुदलकालमा समेत नेता र नीति निर्माताको चरम बेवास्ताका कारण केशवटारको धैर्यको बाँध फुट्ने अवस्थामा पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको सभागृह उद्घाटनका क्रममा केशवटारलाई नै सम्बोधन गर्नुपर्ने कारण यही हो ।

उक्त सम्बोधनका कारण राष्ट्रपति भइसकेपछि पनि कांग्रेस पार्टीसँग आबद्धता त्याग्न नसकेको र बोल्ने क्रममा चिप्लिएको भन्दै उहाँको व्यापक आलोचना भयो । उक्त आलोचना स्वाभाविक भए पनि उहाँले र पछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले समेत खासगरी केशवटारबासी र व्यासको वडा नं १३ र १४ का दमौली केशवटार मोटरमार्गका उपभोक्तालाई थुमथुम्याउन गर्नुपरेको सम्बोधनको अन्तर्य केशवटारको चरम असन्तुष्टि हो । तर अहिलेसम्म नेतृत्व र नीतिनिर्माताबाट दमौली केशवटार मोटरमार्गले भोग्नुपरेको चरम बेवास्ता अब लरोतरो सम्बोधन र थुम्थुम्याइले थेग्न सक्ने अवस्था भने छैन ।

केही समय अगाडि व्यास नगरपालिका वडा नं १४ का वडा सदस्य दुर्गाबहादुर आलेले दमौली केशवटार मोटरमार्ग तनहुँको सबैभन्दा पुरानो मध्येको ग्रामीण मार्ग भएर पनि अहिलेसम्म पक्की हुन नसकेको भन्दै दुखेसो व्यक्त गर्नुभएको थियो । २०३६ सालतिरै जसोतसो मोटर पु¥याइएको केशवटारमा कच्ची बाटो बनेको करिब ४५ वर्षसम्म पनि पक्की सडक बन्न नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभएको थियो । उहाँको दुखेसो स्वाभाविक हो, त्यसले व्यास नगरपालिका वडा नं १३ र १४ अझ खासगरी वडा नं १४ का जनताको दुःख र आक्रोशको प्रतिनिधित्व गर्छ ।

केही महिना पहिले यही लेखकले आफ्नो अर्कै लेखमा दमौली केशवटार मोटरमार्ग पक्की गर्न व्यास नगरपालिकाले सक्रीय पहल लिनुपर्ने सुझाव दिएको थियो । व्यास नगरपालिकाले आन्तरिक बजेटले मात्रै गर्न कठिन भए पनि उक्त मार्गलाई प्रदेश र संघीय सरकारको योजनामा पार्ने पहल व्यास नगरपालिकाले लिनुपर्ने सुझाव पनि उक्त लेखमा दिइएको थियो । केशवटारमा पक्की बाटो बनाउन धेरै ढिलो भैसकेको र त्यहाँका जनताको धैर्यताको बाँध टुटिसकेको तर्क केशवटार लेखकको जन्मस्थल भएकैले मात्र गरिएको थिएन । त्यसमा केही बलिया आधार थिए र छन् । पहिलो–व्यास नगरपालिका जस्तो २०३० सालमै पृथ्वी राजमार्गले चिरेर गएको तुलनात्मक रुपमा सुगम नगरपालिकाको एउटा वडाको केन्द्रसम्म बहुदलीय व्यवस्था आएको करिब ३५ वर्ष हुँदासम्म बाटो पक्की नहुनुलाई बेवास्ता नभनेर के भन्ने ? व्यास नगरपालिकाकै लागि पनि उक्त मार्ग रणनीतिक महत्वको मार्ग हो । यसका लागि नगरपालिका जति तात्नुपर्ने हो, त्यति तातेको देखिएन । राज्य पुर्नसंरचनाका बेला व्यास नगरपालिकामा समाहित हुँदा केशवटारले गरेको जायज र सम्भव चाहना व्यास नगरपालिकाले अहिलेसम्म पुरा गर्न सकेन । दोस्रो–वडा सदस्य दुर्गाबहादुर आलेले भनेझैं ४५ वर्ष अगाडि गाडी पुगेको तनहुँको पुरानो मध्येको एक ग्रामीण सडक अहिलेसम्म कच्ची रहनुले केशवटारलाई गरिएको हेपाहा व्यवहार स्पष्ट देखाउँछ । त्यो बेला दमौली केशवटार मार्गको अहिलेका प्रचलित रुट पोखरीभन्ज्याङ, फच्याङ, गुँदी हुँदै नभई दमौलीबाट छाब्दीबाराही हुँदै केशवटार जान्थ्यो । तर यो मार्गको इतिहास लामो भएको स्पष्ट देखिन्छ । अहिलेको प्रचलित मार्ग खुलेको पनि ३० वर्ष जति भइसकेको छ । यत्रो समयमा जम्मा १४ किलोमिटर बाटो पक्की हुन नसक्नुलाई केशवटारबासीले कुन रुपमा लिन्छन् भन्ने प्रश्नको उत्तर सहज छैन र ?

तेस्रो– यो मार्गभन्दा पछि खुलेका अरु धेरै बाटाहरु पक्की भइसकेका छन् । त्यसमा केशवटारबासीले कुनै डाहा गर्दैनन्, बरु खुशी नै होलान् । तर, पछि खुलेका अरु सडक भकाभक पक्की हुँदा र आफ्नो वडा र वडाको केन्द्रसम्मको बाटो जस्ताको तस्तै रहँदा केशवटारबासीले अपमान महशुस गर्नुको कुनै विकल्प होला र ? चौथो– केशवटार प्राकृतिक र सांस्कृतिक रुपले अथाह संभावना बोकेर बसेको छ । करिब ९० प्रतिशतभन्दा बढी मगर समुदायको बसोबास रहेको केशवटार व्यास नगरपालिको लागि ज्युँदो संग्रहालय बन्न सक्ने अवस्था छ । उक्त वडा व्यास नगरपालिकाको श्रीपेचको हीरा बन्ने संभावना बोकेर बसेको छ । तर दुर्भाग्य, यातायात जस्तो अत्यावश्यक पूर्वाधार भरपर्दो नहुँदा केशवटार खुम्चिएर बस्नुपरेको छ, रित्तिदै गएको छ । र पाँचौ– दमौलीबाट केशवटारको करिब १४ किलोमिटर दूरीमध्ये आधाजति मात्रै पक्की हुन बाँकी हुँदा र त्यसैलाई बर्षौंवर्ष पर्खनुपर्ने परिस्थितिले केशवटारको मन कुँडिएको छ । यो कुरा यहाँ लेख्नकै लागि लेखिएको होइन, प्रत्येकजसो केशवटारबासीको धारणा यही छ । केशवटारको वडा केन्द्रसम्म पक्की बाटो पुगेपछि त्यसका प्रत्येक टोलमा त्यस्तै भरपर्दो सडक पु¥याउने पहल कायम राख्नै पर्छ । पक्की र भरपर्दो सडकले केशवटारको शैक्षिक, सांस्कृतिक, पर्यटकीय लगायत बहुआयामिक विकासको बाटो खोल्ने नै छ । त्यसैले केशवटारको अहिलेको माग नै यही भएको छ, पक्की र भरपर्दो सडक, सडक र सडक ।

अहिलेसम्म केशवटारलाई विभिन्न बहाना र निहुँमा झुलाइएको छ । कहिले बहुवर्षिय योजना, कहिले विश्वबैंकले एकैचोटिमा बनाउने, कहिले अर्को पार्टीको सरकार आउँदा भएन भन्ने जस्ता कारणहरु दिने गरिएका छन् । केशवटारमा पक्की सडक लग्ने मामलामा केशवटार दलीय रुपमा विभक्त छैन । काम गरेपछि जस लिन उछलकुद गर्ने दलीयकरणको चरम रुप केशवटारमा समेत देखिन थालेको भए पनि केशवटारसम्म पक्की सडक बनाउने विषयमा कसैले विरोध गर्दैनन्, सर्वदलीय सहमति नै छ । अहिले राष्ट्रपति र मुख्यमन्त्रीले समेत आश्वासन दिनुभएको भए पनि यस्ता कैयन आश्वासन पहिला पनि दिइएकाले केशवटारबासी ढुक्क हुन सकेका छैनन्, हुनु पनि हुँदैन ।

कांग्रेस र अन्य दललाई गुनासो

तनहुँमा र अझ खासगरी व्यास नगरपालिकामा विकासको बहस गर्दा काग्रेस पार्टीप्रति गुनासो र असन्तोष प्रकट गरिनुलाई अस्वाभाविक मानिनु हुँदैन । कांग्रेस पार्टी तनहँुमा शक्तिशाली भएकाले तनहुँ क्षेत्र नम्बर १ र खासगरी अहिलेको व्यास नगरपालिकामा कांग्रेसको बलियो उपस्थिति रहेकाले त्यहाँ विकास हुने र नहुने विषय स्वाभाविक रुपमा कांग्रेस पार्टीमा गएर ठोकिन्छ नै । काग्रेस यसबाट पन्छिन पाउँदैन । परम्परागत रुपमा कांग्रेसको गढ मानिने व्यास नगरपालिकामा र तनहुँ क्षेत्र नं १ मा विगतका केही निर्वाचनमा कांग्रेसले अनपेक्षित नतिजा पनि ब्यहोरेको छ । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा तत्कालीन् एमालेका कृष्णकुमार श्रेष्ठले जिते भने हालैको प्रतिनिधिसभाको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्ले ठुलो मतान्तरले विजयी भए । तर यी निर्वाचनमा पनि केशवटारले अविचलित रुपमा कांग्रेसलाई सर्वाधिक मत दिइरह्यो । राष्ट्रपति पौडेललाई उक्त निर्वाचन क्षेत्रमा सम्मानजनक मत दिएर केशवटार कहिल्यै थाकेन । जस्तो सुकै विषम परिस्थितिमा पनि कांग्रेसलाई मतदान गरिरहने केशवटारलाई कांग्रेसले समेत अपमानको पुरस्कार कहिलेसम्म दिइरहने हो ?

यही लेखमा माथि उल्लेख गरिनुभएका वडा नं १४ का वडासदस्य दुर्गाबहादुर आले स्वयं नै पनि व्यास नगरपालिका र तनहुँमा केशवटारप्रति कांग्रेसले समेत गर्ने बेवास्ताको प्रतिनिधित्व गर्ने व्यक्ति हुनुहुन्छ । पैतीस वर्ष भन्दा बढी केशवटार माध्यमिक विद्यालयमा अध्यापन गरेर मावि तहको द्वितीय तह (नेपाल सरकारको उपसचिवस्तर) बाट अवकाश लिनुभएका आले व्यास नगरपालिका मात्र नभई समग्र तनहुको मगर समुदाय र बहुआयामिक विकासमा योगदान गर्न सक्ने व्यक्ति हुनुहुन्छ । तर गएको चुनावमा वडा सदस्य जित्नुभएका उहाँलाई नेपाली कांग्रेसले जिल्ला समन्वय समितिको सदस्य समेत बनाउने प्रयत्न गरेन । मगरहरुको घनावस्ती भएको जिल्लामा उक्त समुदायका योग्य, सक्षम र समाजलाई लामो समय नजिकैबाट हेरेका व्यक्तिलाई उचित स्थान दिएर कांग्रेसले सकारात्मक सन्देश प्रवाह गर्न सक्थ्यो । नगरपालिका वा माथिल्लो निकायमा समेत नेतृत्व गर्न सक्ने हैसियत र क्षमता भएका व्यक्तिलाई उचित स्थान नदिइएको कतै केशवटारकै भएका कारणले त होइन ?

कांग्रेस बाहेकका अन्य दलले पनि केशवटारलाई कांग्रेसको गढ ठानेर होला साह्रै वास्ता गरेको देखिएको छैन । विकासमा समेत दलीयकरणको धङधङी अन्य दलले समेत त्याग्नुपर्ने देखिन्छ ।

एउटा अनुरोध

केही समय अघि मैले दमौली केशवटार मोटरमार्गबारे लेख लेखेपछि केही व्यक्तिले सामाजिक सञ्जालमा केशवटारका वडाध्यक्ष काजीमान श्रेष्ठ र अन्य प्रतिनिधिहरु प्रति प्रश्न उठाउने र लाञ्छना लगाउने पनि गर्नुभयो । त्यो र यो लेखको उद्देष्य जनप्रतिनिधिमाथि खनिन उत्प्रेरित गर्नु होइन । वडाका प्रतिनिधिहरु प्रत्येक दिन सर्वसाधारण जनतासँग उठबस गर्नुपर्ने हुँदा उहाँहरुलाई पनि यो काम सकेसम्म छिटो सम्पन्न होस् भन्ने लागेको होला । दमौली केशवटार मोटरमार्ग भरपर्दो र पक्की हुँदा उहाँहरुले पनि जस लिन पाउनुहुन्छ । जसको गल्ती कमजोरी र बेवास्ताले यो सडक पक्की गर्ने कार्यमा ढिलाइ भए पनि सबैभन्दा आलोचना खप्नेमा उहाँहरु नै पर्नुहुन्छ । कतिपय प्रशासनिक र नीतिगत विषयमा उहाँहरुलाई पनि अप्ठेरो हुन सक्छ । यो लेखको उद्देश्य केशवटारका जनताको आवाज मुखरित गर्नु मात्र होइन जनप्रतिनिधिहरुको काममा होस्टेमा हैंसे गर्नु पनि हो । उहाँहरुलाई अप्ठेरो परेको छ भने जनताकै तहबाट उठेका आवाजले उहाँहरुको मागलाई समेत थप बलियो बनाउने छ । यो लेखको अर्को उद्देष्य केशवटारको अहिलेको सबैभन्दा महत्वपूर्ण र जायज मागलाई सर्वसाधारणको तहमा कायम राखिरहनु पनि हो ।

(केशवटारका स्थायी बासिन्दा लेखक तिवारी हाल अष्ट्रेलियाको सिड्नीमा उच्च अध्ययनमा छन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

बन्दिपुर, बैशाख १ नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव

नयाँ वर्ष २०८१ सुरु

देवघाट, बैशाख १ शनिबारदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई घिरिङमा स्वागत

अन्जान परियार घिरिङ, चैत ३० नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई घिरिङ गाउँपालिकामा स्वागत गरिएको छ

रास्वपा देवघाटद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

देवघाट, चैत ३० राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका कमिटिको आयोजनामा नव वर्ष २०८१ को शुभ